काठमाडौं । राष्ट्रियसभामा रिक्त रहेको दुई स्थानमा हुने निर्वाचन रोचक बन्ने देखिएको छ । बागमती र लुम्बिनी प्रदेशमा रिक्त रहेको स्थानमा निर्वाचन तय भएको हो । बागमती प्रदेशमा यही जेठ ६ गते निर्वाचन तय भएको छ भने लुम्बिनी प्रदेशमा जेठ १७ गते निर्वाचनको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना महामारीको संकट बढिरहेका बेला निर्वाचन तय भएको हो । निर्वाचनमा एमालेका सांसदविरुद्ध एमालेकै सांसदले प्रतिस्पर्धा गर्ने तय भएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि दलका नेताहरूबीच दूरी बढ्दै गएको छ । एमालेभित्रै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँमा बस्न सक्ने अवस्थासमेत छैन । ओली र नेपाल एकठाउँमा बस्न नसक्नुको परिणाम राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका नेताहरूबीच नै प्रतिस्पर्धा हुने पक्का भएको हो । यसअघि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका बागमती र लुम्बिनीमा दुवै जना एमाले प्रवेश गरेपछि रिक्त भएका स्थान हुन् । माओवादीका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि ती दुई ठाउँ रिक्त भएका थिए । माओवादीले कारबाही गरेसँगै नियमाअनुसार दुवै क्षेत्र रिक्त भएका हुन् ।
यस्तो बन्दैछ गठबन्धन
उपनिर्वाचनका लागि कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच छलफल भएको छ । छलफलमा बागमतीमा नेपाल र प्रचण्ड पक्षका उम्मेदवार तथा लुम्बिनीमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने सहमति नेताहरूबीच जुटेको छ । मंगलबार र बुधबार दुई दिन लगातार भएको छलफलमा नेताहरूबीच सहमति जुटेको बताइएको छ ।
उपेन्द्र यादवको निवास हात्तीवनमा भएको बैठकमा बागमतीमा एमालेका उम्मेदवार बादलविरुद्ध डा. खिमलाल देवकोटालाई उठाउने निर्णय भएको छ । देवकोटा योजना आयोगका पूर्व–उपाध्यक्षसमेत हुनुहुन्छ ।
देवकोटा कुनै राजनीतिक पार्टीमा सक्रिय नभए पनि उहाँलाई एमालेको माधव नेपाल पक्षसँग नजिक मानिन्छ । प्रचण्ड–माधव पक्षको साझा रोजाइमा परेर उहाँलाई अघि सारिएको बताइएको छ । माधव पक्षबाट उम्मेदवार बने पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने समझदारी नेताहरूबीच भएको छ ।
माओवादी नेता देव गुरुङले साझा उम्मेदवारको खोजी गर्दा देवकोटाको नाममा सहमति जुटेको बतउनुभयो ।
बागमतीमा एमालेको एकल बहुमत भए पनि माधव पक्ष अलग हुनासाथ विपक्षी गठबन्धन बलियो बन्न सक्छ । यहाँ जसपाको बाबुराम पक्षका एक गाउँपालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्य छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा पनि एमाले–एमाले नेताहरूबीच नै भिडन्त हुने तय भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आएपछिको घटनाक्रममा राजीनामा दिनुभएका एमाले सांसद दुर्गानारायण पाण्डे नै राष्ट्रियसभाको उम्मेदवार बन्ने तय भएको हो । पाण्डे राजीनामा दिएर कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेसले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
राष्ट्रियसभा चुनावमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यले मत हाल्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ४८ मानिन्छ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ मानिन्छ ।
‘विपक्षीको रणनीति ओलीलाई फाल्नैपर्ने’
विश्वासको मत लिने निर्णय गर्नुभएको प्रधानमन्त्री ओलीलाई जुनसुकै अवस्थामा पनि असफल बनाउनुपर्ने रणनीतिमा विपक्षी दलहरू लागेका छन् । एमालेकै माधव नेपाल समूह र विपक्षी दलहरू ओलीलाई असफल बनाउनुपर्ने रणनीतिमा जुटेका हुन् ।
ओलीविरुद्धको रणनीति तय गर्न अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको यादव समूह छलफलमा जुटेका छन् । मंगलबार देउवासहित छलफल गरेका नेताहरूले बुधबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा छलफल गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल छलफलका लागि जुट्नुभएको थियो । छलफलमा एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम–उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत लिनबाट असफल बनाउने र उहाँकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्ने गरी राजीनामाको विषय छलफलमा रहेको छ । त्यस्तै, जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारेसमेत छलफल भएको छ ।
प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद् बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका हुन् ।
लुम्बिनीमा एमाले सांसदको राजीनामा
लुम्बिनी प्रदेशमा एमाले सांसद अमरबहादुर डाँगीले पनि मुख्यमन्त्री शंकर पोखरेलको साथ छोड्नुभएको छ । दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित डाँगीले राजीनामा दिएर माओवादी प्रवेश गर्ने तयारी गर्नुभएको छ ।
सांसद डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा बुझाउनुभएको हो । बुधबार प्रदेशसभा सचिवालयमा आएर उहाँले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । डाँगी यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा हुनुहुन्थ्यो ।
तीन मन्त्रीको शपथ
मुख्यमन्त्री शंकर पोखरेलको क्याबिनेटमा थपिएका तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थपिएका चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ र धर्मबहादुर लालले शपथ लिनुभएको हो । आचार्यलाई आन्तरिक मामिला तथा कानुन, श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकासमन्त्रीको रूपमा शपथ गराइएको हो । योसँगै लुम्बिनी मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
वैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत हुनुहुन्छ ।