टोकियो । कोभिड संक्रमणका कारण जापान सरकारले नेपाल लगायत बिभिन्न देशका नागारिकलाई जापान प्रवेशमा लगाएको यात्रा प्रतिबन्ध खुलेको छ । जापानले लगाएको यात्रा प्रतिवन्धका कारण घरविदामा गएर नेपालमै रोकिएका जापानवासी नेपालीहरु जापान आउन पाउने भएका छन् ।
शुक्रबार जापान सरकार, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचना अनुसार, कोभिड १९ संक्रमण नियन्त्रणका लागि जापान सरकारले नेपाल लगायत दक्षिण एसियाली देशहरु भारत, अफगानिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्समा लगाईएको यात्रा प्रतिबन्ध यहि सेप्टेम्बर १९ तारिखबाट हटाउने सूचना जारी भएपछि नेपाल लगायतका देशहरुमा महिनौँ रोक्किनु परेका हजारौँ नेपालीहरुलाई राहत हुने भएको हो ।
जापान सरकारले जारी गरेको सूचना अनुसार तिन दिन होटल क्वारेनटाईन पछि यात्रु निजि वहान प्रयोगगरी आफ्नो घर जान सक्ने छन । घरमा १४ दिनको घर क्वारेनटाईनलाई कडासग नियमन गरिनेछ भने यदि नियमहरु पालन नभए भिषा रद्द गर्न समेत सकिने जनाईएको छ ।
भिषा भएर पनि कोभिड १९ का कारण नेपालमा नै रोकिएका नेपालीहरुका लागि प्रवेश खुल्ला हुने व्यहोरा उल्लेख भएता पनि, नयाँ भिसा वाहकहरुको लागि यस पटकको सूचनामा पनि केहि उल्लेख गरिएको छैन । करिव २ बर्ष अघिदेखि अध्ययनका लागि जापान आउन चाहने हजारौं विद्यार्थीहरु जापान सरकारले लगाएको यात्रा प्रतिवन्धका कारण रोकिएका छन् ।