काठमाडौं । नयाँ वर्ष २०८१ को वैशाख १ देखि ठमेल र दरबारमार्ग २४सैँ घण्टा खुल्ने भएका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताबमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल चौबिसै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।
गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी गराउनुभयो । शर्माले भन्नुभयो, ‘सरकारले वातावरण बनाइदिने भएपछि हामीले पनि सबै तयारी गरिसकेका छौँ । नयाँ वर्षदेखि त्यो घोषणा हुन्छ, रातभर व्यवसाय सञ्चालन हुन्छ ।’
त्यस क्षेत्रको सुरक्षा प्रबन्ध र व्यवस्थापनको काम भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा वैशाख १ गतेदेखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी भएको बताउनुभयो । अब ठमेल र दरबारमार्गमा क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार रातभर खुल्नेछन् । रात्रिकालीन बजार व्यवस्थापनका लागि प्रशासनले सुरक्षा मापदण्ड बनाएर लागू गर्दै छ । मापदण्ड नपुगेका व्यवसाय भने त्यसपछि बन्द हुनेछन् ।
यद्यपि, ठमेल भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान् बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने शर्माको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताउनुभयो ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आयोजना गरेको ‘लागुऔषध दुव्र्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उहाँले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताउनुभएको हो । ‘ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ’, उहाँले भन्नुभयो ।