चितवन । लकडाउनसँगै बजार नपाएपछि चितवनमा बोटमै केरा पाक्न थालेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको केरा बजार लैजान तयारी गरिएका थिए ।
जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका अनुसार बजार बन्द भएपछि छिप्पिएका केरा बारीमै पाक्न थालेका छन् । उनले भने, ‘चैतको १५ गतेदेखि यहाँका बारीमा केरा तयारी भएको थियो । अहिले वैशाखको पहिलो हप्ता लाग्दासमेत बिक्री गर्न सकिएको छैन ।’
नारायणगढको तरकारी तथा फलफूल थोक बजार बन्द छ । थोक बजार बन्द भएपछि सामान बिक्री गर्न समस्या भएको उनले जानकारी दिए । स्थानीय प्रशासनले केरा बोकेको गाडी चलाउन दिए पनि बिक्री गर्ने स्थानको अभावमा बारीमा तयारी अवस्थामा रहेको केरा लैजान नसकिएको उनले बताए ।
मार्कण्डे केरा उत्पादक सहकारी संस्थाका अध्यक्ष ध्रुव ढुंगानाले बिक्रीका लागि केरा तयारी भए पनि बेच्न नसकिएको बताए । उनले भने, ‘बजारमा केरा लैजान मजदुर पाइँदैन, आफ्नो साधनमा लैजान पनि पाइँदैन, कसरी बिक्री गर्ने ?’ सो सहकारीले २० विगाहा क्षेत्रफलमा लगाएको केरा अब बारीमा नै कुहिने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, ‘उपभोक्तामाझ लैजाने वातावरण भए लगानी डुब्ने थिएन ।’
पूर्वी चितवनका केरा उत्पादक कृषक यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि बिक्री नहुँदा लाखौं नोक्सान हुने बताए । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्नेसमेत थाहा नभएको उनको भनाइ छ । संघका पूर्वअध्यक्ष रहेका सुबेदीले भने, ‘अहिले पनि भारतबाट केरा भित्रिएको छ तर नेपाली केराले बजार पाउन सकेको छैन ।’ उनले मात्र जिल्लामा ७० बिघामा केराखेती गर्दै आएका छन् ।
अवस्था असहज भएकाले बैंकबाट ल्याएको ऋणको ब्याजको विषयमा सरकारले ध्यान दिनुपर्ने केरा उत्पादक कृषकले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने केरा, फलफूल, तरकारीका साना गाडीलाई बारीबाट बजारसम्म लैजान दिने व्यवस्था मिलाएको जानकारी दिए । भीड नगरी आफ्नो सामग्री बजार लैजान दिने व्यवस्था सिर्जना गरिएको उनले दावी गरे ।
केरा उत्पादन सङ्घको तथ्याङ्कअनुसार जिल्लामा तीन हजार बिघामा केरा खेती हुँदै आएको छ । संघमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गतवर्ष मात्रै रु ५० करोड बराबरको केरा निकासी भएको संघले जानकारी दिएको छ । दुई वर्षअघि हावाहुरी र असिनाले यहाँ लगाइएको केरा नष्ट गरेको थियो । त्यसको ऋण कृषकले तिर्न नपाउँदै थप नोक्सानी बेहोर्नुपरेको हो । यहाँको केराको मुख्य बजार राजधानी काठमाडौँसहित देशका प्रमुख सहरहरु हुन् ।
(रासस)