नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए।
आज वीरगञ्जमा देखिएको यो संख्या नेपालमा एकैदिन देखिएको सर्वाधिक हो। यसअघि २१ वैशाखमा नेपालगञ्जमा एकैपटक १६ जनामा देखिएको थियो।
उपचार पछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ
नेपालमा कोरोनाको उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएको हो । देवकोटाका अनुसार उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।
यसरी अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् । उनीहरुको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ ।