टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता भएको आवाज उठेपछि गठन भएको उच्चस्तरिय छानविन समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) द्वारा करिव ६ महिना अघि गठन गरिएको एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक तथा डा. बलराम श्रेष्ठ, शालिकराम भण्डारी, बिजय थकाली र डा. सरोज कँडेल सदस्य रहेको ५ सदस्यीय उच्च स्तरिय छानविन समितिले ९१ पृष्ठ लामो प्रतिवेदन टोकियोमा आज (आईतवार) एक कार्यक्रमका बिच आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा उपस्थित पत्रकार तथा एनआरएनए आईसीसीका पदाधिकारी एवं सदस्यहरुका बिच उक्त छानविन समितिले प्रतिवेदनका केही मूख्य हरफहरु सार्वजनिक गर्दै सन २०१७ देखी २०२० नोभेम्वर सम्म अर्थिक अनियमितता भएको निष्कर्ष निकालेको जानकारी दिएको छ ।
नेपाल फेस्टिवल, नेपालमा भूकम्प गएको समयमा राहतका लागि जापानबाट संकलन गरिएको रकम, कार्यालय संचालन, जापानमा ज्यान गुमाएकाहरुको विमा बापतको रकम, बैंक मार्फत निकालिने रकमको प्रयोजन नखुलेको, जलपान (पार्टी) जस्ता विभिन्न अनावश्यक शिर्षकहरुमा खर्च देखिएको, विभिन्न किसिमका खर्चहरु फर्च्योट हुन नसकेको, कतिपय अवस्थामा आम्दानी भन्दा खर्च धैरै भएका कारण संस्थाको हिसाव माईनसमा (ऋणत्मक) देखिएको जस्ता विवरणहरुमा आर्थिक अनियमितता भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
समितिले एनआरएनएको प्रत्येक बर्षको खर्च आम्दानी हिसाब पारदर्शी बनाउनु पर्ने, राहत तथा विभिन्न कार्यक्रमहरुका खर्च आम्दानी पारदर्शी गर्नुपर्ने, प्रत्येक बर्ष अडिट गर्नुपर्ने, विना बिल भरपाई रकम खर्च गर्न नहुने, कार्यालयमा लेखा सम्बन्धि कर्मचारी राख्नु पर्ने, जापानमा ज्यान गुमाउने हरुको रकम संस्थागत रुपमा रेकर्ड गरी कार्य सम्पादन गर्नु पर्ने जस्ता सुझावहरु समेत दिएको छ ।
प्रविवेदन हस्तान्तरण पछि एनआरएनए आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठले भनेः ‘हामीले छानबिन समितिको प्रतिवेदन प्राप्त गरेका छौं, यसलाई आईसीसीमा पठाउने छौं । आईसीसीले अध्ययन गरेपछि कारवाहीको प्रकृया अगाडि बढाउने छ, हामीले आईसीसी निर्देशन अनुसार काम गर्ने छौं ।’
अनियमितता भएको निष्कर्ष सहितको उच्च स्तरिय छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि आगामी दिनहरुमा एनआरएनए जापानका गतिविधि र भविश्य बारे चिन्ता ब्यक्त गर्नुका साथै जापानमा रहेका नेपालीहरुले हालको कार्यसमिति प्रति नैतिकताको प्रश्न उठाएका छन ।
कार्यक्रममा उपस्थित एक सहभागीले चिन्ता ब्यक्त गर्दै भने: ‘अनियमितता बारे आईसीसीका जिम्मेवार ब्याक्तिहरुबाट गैर जिम्मेवार अभिब्यक्तिका कारण कारवाही हुने भन्ने विषयमा आशंका छ, जापानमा रहेका नेपाली समुदायको छाता संगठनमा नै यस किसिमका गतिविधि भएको अवस्थामा आउने पुस्ताले के सिक्ने? कसरी अभिभावक संस्था मान्ने ?’