घोराही । दाङमा कोरोना भाइरसका बिरामी फेला परेको भ्रामक स्टाटस लेखेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही १५ निबासी २८ बर्षीय दिपक न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।
न्यौपानेले आज बिहान आफ्नो फेसबुकमा दाङमा पनि एक जना कोभिडका बिरामी फेला परेको भन्दै स्टाटस लेखेको भन्दै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले पक्राउ परेका न्यौपानेमाथि अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।
दाङमा अहिलेसम्म ४० जनाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ भने १४ दिन क्वारेन्टाइन बसेका १३ जना डिटीआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।