काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरुमा सामान्य किसिमको लक्षणमात्र देखिएको, आत्मबल बलियो भएको तथा उपचारको व्यवस्था राम्रो भएको बताइएको छ ।
कतिपयले नेपालको हावापानी र मानिसमा प्रतिरक्षा प्रणाली बलियो भएकोले पनि निको हुने गरेको दाबी गरेका छन् । तर कोरोना सङ्क्रमणको महामारी फैलिएका देशहरुमा पनि निको हुने क्रम उच्च छ ।
कतिपयमा सामान्य लक्षणमात्र देखिँदा अस्पताल नजाने, कतिपय देशले निको भएकाहरुको तथ्याङ्क अध्यावधिक नगर्नेजस्ता कारणले कति मानिस कोरोनाबाट निको भए भन्ने यकिन गर्न कठिन हुन्छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले गणितको प्रयोग गरेर तयार गरेको नमुना अनुसार ९९ देखि ९९ दशमलव ५५ प्रतिशत मानिस निको हुने गरेको अनुमान छ ।
कोरोनाबारेको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार २४ लाखभन्दा धेरै सङ्क्रमितमध्ये ६ लाखभन्दा धेरै मानिस निको भएका छन् । तर यो तथ्याङ्क पहिचान भएकाहरुको हो । थुप्रै बिरामी सामान्य लक्षणमात्र देखिएर अस्पताल नगइकनै निको हुने गरेको जोन्स हप्किन्स विश्वविद्यालयको अध्ययनले देखाएको छ ।
याे पनि पढ्नुहाेस् कोरोना सङ्क्रमण भएपछि निकाे हुन कति समय लाग्छ ?