Homeअन्तर्राष्ट्रियचीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर

चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर

Sagun Sandesh

काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् । चिनियाँ दूतावासले दिएको दिएको जानकारी अनुसार मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपुर्‍याएको हो ।

चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा  १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।

नेपालको वर्तमान महामारी गम्भीर रहेको भन्दै चीनले नेपाललाई आपतकालीन अनुदान सहयोग प्रदान गर्न समन्वय गरिरहेको चिनियाँ दूतावासले जनाएको छ ।  महामारी विरूद्ध नेपाली जनताको लडाइँलाई समर्थन गर्दै नेपाल सरकारको अनुरोध अनुरुप चीन सरकारले नेपाललाई आपतकालीन चिकित्सा सहयोग पुर्‍याउने निर्णय गरेको दूतावासले जनाएको छ ।

गत अप्रिलमा सम्पन्न भिडियो सम्मेलनमा चीन, अफगानिस्तान, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका परराष्ट्रमन्त्रीले कोभिडविरुद्धको  लडाईमा सहयोगका बारेमा छलफल गरेका थिए । त्यहीबेला चीनले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि सामग्रीहरुको सहयोग गर्ने वचन दिएको दूतावासले स्पष्ट पारेको खबर राताेपाटीले प्रकाशन गरेकाे छ ।  

चीन सरकार नेपाली जनताका साथ दृढतापूर्वक खडा हुने बताउँदै  नेपालमा विभिन्न च्यानलमार्फत चाँडोभन्दा चाँडो थप चिनियाँ सहयोग पुर्‍याइने नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार एक विज्ञप्तिमार्फत प्रतिवद्धता जनाएका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय