Homeअन्तर्राष्ट्रियखोप आउनु भन्दा अघि कोभिड–१९ ले २० लाख मानिसको ज्यान लिन सक्ने...

खोप आउनु भन्दा अघि कोभिड–१९ ले २० लाख मानिसको ज्यान लिन सक्ने डब्लुएचओकाे चेतावनी

Sagun Sandesh

प्रभावकारी खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने बताएका हुन् ।

गएको वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको ज्यान गएको छ ।

संक्रमण फैलिने क्रमम निरन्तर जारी रहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २० लाख भन्दा बढी पुगेको छ ।

गृष्म ऋतु आउँदै गर्दा उत्तरी गोलार्धका धेरै देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ ।

अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश हुन् । यी तीन देशमा गरेर एक करोड ५० लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्ला दिनहरुमा युरोपका विभिन्न देशमा संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । महामारीको पहिलो चरणमा जस्तै अहिले पनि युरोपका विभिन्न देशमा लकडाउनसहितका प्रतिबन्धात्मक उपायहरु अपनाउन थालिएको छ ।

डा. रायनले भने, ‘समग्रमा निकै फराकिलो क्षेत्रमा चिन्ताजनक रुपमा संक्रमण फैलिरहेको हामीले देखेका छौँ ।’

उनले युरोपियनहरुलाई लकडाउनको अवस्था पुनः आउन नदिनका लागि पर्याप्त काम गरे–नगरेको आफैलाई सोध्न आग्रह गरेका छन् ।

उनले परीक्षण तथा ट्रेसिङ्ग, क्वारेन्टिन र सामाजिक दूरीसहितका उपायहरु अपनाउन मुख्य रुपमा जोड दिनु पर्ने र त्यसमा कुनै पनि हिसाबले कमी ल्याउन नहुनेमा जोड दिएका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय