टाेकियाे । दैनिकरूपमा काेराेना भाईरसकाे सन्त्रास बढिरहेकाे टोकियोमा शुक्रवार एकैदिन २०१ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन प्रमाणित यो अहिलेसम्मकै ठूलो संख्या हो ।
जापानी समाचार संस्थाहरूले दिएको तथ्यांक अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे । समाचारमा टाेकियाेकी गभर्नर युरिको कोइकेले शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराकाे पुष्टि गरेकाे उल्लेख छ ।
हिजो टोकियो महानगर भित्र १४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस संगै टोकियोमा मात्र संक्रमित हुनेहरुको संख्या २७९६ पुगेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन र थप नफैलियोस भनेर सजगता अपनाउन सहज होस भन्ने हेतुले मार्च ७ मा जापानका ७ वटा प्रिफेक्चरहरुमा संकटकालको घोषणा गरेपश्चात प्रधानमन्त्री शिन्जो आबेले बिहीवार पत्रकार सम्मेलन गरि जापान भरका ४७ वटै प्रिफेक्चरमा संकटकाल लागू हुने बताए । संकटकाल बिहिबार मध्यरातदेखि सुरु भई आगामी मे ६ तारिकसम्म रहनेछ ।