Homeलुम्बिनी प्रदेशरूपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

रूपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

Sagun Sandesh

काठमाडौं। रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत बिरामी गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षका पुरुषको आज बिहान मृत्यु भएको प्रदेश ५ सरकारले पुष्टि गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको बुधबारदेखि स्वास्थ्य अवस्था गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले बिहिबार (आज) एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

उनको मृत्यु सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेको नरैनापुर ५ का २५ वर्षीय युवकको कोरोना संक्रमणका कारणले मृत्यु भएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय