नेपालगञ्ज। बाँकेमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । नेपालगञ्जको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार एघार पुरुष र एक महिलाको मृत्यु भएको हो ।
घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ । बाँके प्रहरीले मृतकको सनाखत गर्दैछ ।
दुर्घटनामा घाइते हुनेहरुमा दाङ धना गाउँपालिकाका ४ का ४५ वर्षीय मेघराज केसी, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–७ का १७ वर्षीय सुनिल परियार, सोही ठाउँका २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, दाङको तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी, सल्यान सारदा गाउँपालिकाका– ६ का टीका चलाउने, दाङ राजपुर गाउँपालिका–६ का २० वर्षीय दिपेश चौधरी रहेका छन् ।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–२ का २३ वर्षीय रुपलाल केसी, रोल्पा जिल्लाको कुरैति गाउँपालिका २ का ५२ वर्षीय नर बबहादुर बिक, दाङको राजपुर –२ का २१ वर्षीय जीवन घर्ती, रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दीलबहादुर बिक, सल्यान जिल्ला कुपिण्डेदहका २० वर्षीय मिनराज बिक सल्यान जिल्लाका सिद्धकुमाख ५ का तेज बहादुर बुढाथोकी पनि घाइते भएका छन् ।
अन्य घाइतेमा सल्यानका १८ वर्षीय धन बहादुर बोहरा, २८ वर्षीय लोकेश घर्ती, ५२ वर्षीय दिप बहादुर बुढा, दाङका २० वर्षीय भरत थापा, सल्यानका शिव भण्डारी, निम बहादुर बादी देवेन्द्र बुढाथोकी र ज्ञान बहादुर बोहरा रहेका छन् ।