Homeलुम्बिनी प्रदेशकोरोना कहर : आफ्नी आमालाई टाढैबाट अन्तिम बिदाई

कोरोना कहर : आफ्नी आमालाई टाढैबाट अन्तिम बिदाई

Sagun Sandesh

नेपालगञ्ज । बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार तथा शवको व्यवस्थापन कोबिड–१९ को निर्देशिका बमोजिम बुधबार बिहान गरिएको छ ।

दायाँ फोक्सोमा समस्या देखिएपछि गत ३० जेष्ठमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भर्ना भएकी उनको असार १ गते सोमबार साँझ मृत्यु भएको थियो । मृतकको शव व्यवस्थापनको लागि कोभिड–१९ को मापदण्ड अनुसार नेपाली सेनाले परिवारको सहमतिमा व्यवस्थापन गरेको हो । नेपाली सेनाको भैरवप्रसाद गणको तालिम प्राप्त टोलीले विषेश सावधानी अपनाउँदै बाँके–बर्दियाको सीमा क्षेत्रको मान खाेलाको किनारमा रहेको बाँसगढी नगरपालिकाको जंगलमा गाडिएको हो ।

शव व्यवस्थापन गर्दा मृतकको परिवारबाट एकजना छोरा मात्र घाटमा पुगेका थिए । उनले आफ्नो संस्कार अनुसार फुल, अविर सेतो कपडा लिएर घाटमा पुगेको भएपनि कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमण फैलने त्रासका कारण आफ्नै आमाको शव अन्तिम दर्शन गर्न पनि पाएन केही मिटर परबाट मौन भएर आफ्नो कर्तव्य पुरा गर्दै टाढैबाट गरे आमालाई अन्तिम बिदाई ।

कोरोना संक्रमणका कारण उपचारका क्रममा ज्यान गुमाएकी आफ्नी आमालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै ।

दिउँसो करिब साढे १२ बजेको समयमा बाँसगढी नगरपालिकाको जंगलमा बनाइएको आर्यघाटमा आफ्नी आमाको शवको अन्तिम दर्शन गरेका थिए । बिरामी भएदेखि नै आमाको सेवामा खटिएका उनले आमाको मृत्यु भएपछि मात्र आर्यघाटमा भेटेका हुन् ।

कोभिड–१९ को संक्रमणको कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनको लागि आवश्यक पर्ने शव बाहनको अभावमा गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले आफै चढ्ने मोटरमा अस्स्पतालबाट राखेर मान खोलाको आर्यघाटमा लैजानु परेको थियो । उनले शव व्यवस्थापनको लागि विषेश प्रकारको शवबाहन व्यवस्थापन गर्न माग समेत गर्दै भने, ‘आज एक जनाको कोभिड–१९ को संक्रमणको कारण मृत्यु भएको छ । उनको शव व्यवस्थापन गर्नको लागि शवबाहन छैन । यस्तो विषम परिस्थितिबाट निकास पाउन म आफैंले चढ्ने मोटर आफ्नो ज्यानको बाजी थापेरै भएपनि लिन आएको छु ।’

भैरव प्रसाद गणका गणपति तथा प्रमुख सेनानी नहकुल थापाले विषेश सावधानी अपनाएर मृतकको शवको व्यवस्थापन गरिएको जानकारी दिए । कोभिड–१९ को शव व्यवस्थापनको निर्देशिका अनुसार नेपाली सेनाले शवको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । सो अवसरमा संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री दलबहादुर सुनारले कोभिड–१९ को संक्रमणको कारण ज्यान गुमाउनेको शव व्यवस्थापनको स्थान आर्यघाट तथा शव ढुवानीको लागि विशेष व्यवस्था गर्न माग गरे ।

उनले भने–‘ अहिले कोरोना भाइरसको संक्रमणको त्रास छ । चारैतिर संक्रमितको सख्या बढ्दो अवस्थामा छ । अव संक्रमणको कारण मृत्यु भए शव व्यवस्थापनमा समस्या आउन सक्ने अवस्था देखियो । समयमै यसतर्फ सबैले ध्यान दिन आवश्यक छ ।’ उनले आइसोलेशन सेन्टर स्थापनादेखि क्वारेन्टाइन निर्माणमा देखिएको अवरोध शव व्यवस्थापनमा पनि देखिने संकेत पाइएकोले तत्काल यसतर्फ ध्यान दिन संबन्धित निकायलाई आग्रह गरे ।

मृतक महिलाका छोराले शव व्यवस्थापन गर्ने स्थलमा सुरक्षित रुपमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षीय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगिसकेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय