कोहलपुर । बाँकेको कोहलपुर नगरापालिका–१३ रोहिणी खोला नजिक बस र टिपर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना अ क–४१ नम्बरको टिपर शुक्रबार साँझ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते छन् ।घाइतेहरु सबैको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याए एलगत्तै मृत्यु भएको डिएसपी खनालले जानकारी दिए ।
दुर्घटनामा टिपरका सहचालक बाँके नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाँठा, सोही ठाउँका टिपर चालक २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साताखानी ७ बस्ने वर्ष ४१ का जीवनकुमार बिक, झापा मेचीनगर-१० का ४५ वर्षीय छत्रबहादुर कटुवाल र नाम थर नखुलेकी अन्दाजी ३०-३५ वर्षकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी खनालका अनुसार टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये सातको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिपरभित्र रहेका घाइतेको उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।