Homeअपराधडाक्टरहरूमाथि कुटपिट भएको घटनामा अनुसन्धान गर्न छानबिन समिति गठन

डाक्टरहरूमाथि कुटपिट भएको घटनामा अनुसन्धान गर्न छानबिन समिति गठन

Sagun Sandesh

काठमाडाैं । त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरलाई प्रहरीले कुटपिट गरेको घटनामाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। 

महाराजगन्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्साल सहितका प्रहरी अधिकारीले बुधबार राति डाक्टरहरूमाथि कुटपिट गरेको आरोप छ।

घटना बाहिरिएसँगै महानगरीय प्रहरी कार्यालय मेट्रोले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको डिआइजी विश्वराज पोखरलले जानकारी दिए।

‘डाक्टरलाई कुटेको भन्ने कुरा आएको छ के हो भनेर बुझ्न तीन सदस्यीय छानविन समिति गठन भएको छ,’ डिआईजी पोखरेलले भने,’ प्रतिवेदनपछि कस्तो कारबाही गर्ने भन्ने थाहा हुन्छ।’

समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य रहेका छन्। 

ड्युटी सकेर फर्किरहेका शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको आरोप छ।

तर डिएसपी उमेश लम्सालले भने घटनालाई सामान्य असमझदारी भएको बताएका छन्।

‘त्यस्तो केही होइन सामान्य असमझदारी भएको हो,’उनले भने,’त्यति हो अहिले त्यही सम्बन्धी मिटिङमा छु।’

चिकित्सक कुटिएको विषयमा चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै संघले परिचयपत्र देखाउँदादेखाउँदै पनि प्रहरीबाट चिकित्सक कुटिनु अक्षम्य भएको जनाएको छ।

जारी विज्ञप्तिमा संघले काम सकेर कोठा फर्किने क्रममा कान्ति बाल अस्पतालको ओरालोमा चिकित्सकहरूलाई कुटिएको बताएको छ।

उक्त सामग्री सेताेपाटीबाट साभार गरिएको हो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय