काठमाडौं । नेपाल पत्रकार महासंघ जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।
महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीको आज भएको डिजिटल कन्फरेन्स बैठकले कोभिड–१९ को सङ्क्रमणले उत्पन्न जटिल परिस्थितिमा समाचार सङ्कलनका क्रममा आफ्नो सुरक्षालाइ पहिलो प्राथमिकतामा राख्न सञ्चारकर्मीमा आग्रह गरेको छ ।
क्वारेन्टाइन, आइसोलेसन वार्ड, सङ्क्रमण परिक्षण स्थलको संवदनशिलतालाई ख्याल गर्न, पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभइ नजान पनि महासङ्घले आग्रह गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
वर्तमान परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै सरकारले सङ्क्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिँदै मर्यादित र जिम्मेवार पत्रकारितालाई महासंघले जोड दिएको छ ।
कोरोनाको उच्च सङ्क्रमणका बीच सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने काममा क्रियाशील पत्रकारलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न र सङ्कटको यो घडीमा त्यस्ता निर्णयहरु नगर्न सञ्चार प्रतिष्ठानको ध्यानार्कषण गराएको महासचिव विष्टले बताउनुभयो । (रासस)