Homeराजनीतिसबै प्रदेशले पाए डीआईजी

सबै प्रदेशले पाए डीआईजी

Sagun Sandesh

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा गरेका सबै डीआईजीलाई जिम्मेवारीसहित पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा प्रहरी अधिकारीलाई आईजीपी ठाकुर ज्ञवालीले सोमबार दज्र्यानी चिह्न प्रदान गरेपछि उनीहरूलाई जिम्मेवारी दिइएको हो । 

एसएसपीबाट डीआईजीमा बढुवा १० प्रहरी अधिकारीलाई दिइएको जिम्मेवारीअनुसार ७ डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ । जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् । 

प्रदेश २ मा धिरजप्रताप सिंह, बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई खटाइएको छ ।

यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा सहकुलबहादुर थापालाई पठाइएको छ । उनले यसअघि अपराध अनुसन्धान महाशाखा नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षक सचिवालयमा पठाइएको छ ।
त्यस्तै, हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरो ल्याइएको छ । यसअघि, ब्युरोको नेतृत्व गरेका डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् ।

यसैगरी, डीआईजी अरुणकुमार बीसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा पठाइएको छ । गत २८ चैतमा १० एसएसपी डीआईजीमा बढुवा भएका थिए ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय