बाँके । आज थप दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमन्त्रालयले रूपन्देही र बाँकेका एक/एक जना पुरूषमा संक्रमण देखिएको बताएको हो। उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
स्वास्थ्यमन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आज, १९ वैशाख दिउँसो २ बजेसम्मको अध्यावधिक विवरण विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै थप दुईजनामा संक्रमण पुष्टि भएको बताएका हुन्।
संक्रमित भएका दुई जनामध्ये एक जना रूपन्देहीका २५ वर्षीय पुरूष र अर्का बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरू दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताइएको छ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देही कोटहीमाईका युवा १४ दिनअघि भारतको दिल्लीबाट आएको खुलेको छ।
नेपाल र भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा वैशाख ५ गते गाउँ आएका उनलाई सोही दिन नै कोटहीमाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै शुक्रवार बाँकेको नेपालगञ्जमा पनि एक जना कोरोना संक्रमित फेला परेका छन्।
संक्रमण पुष्टि भएका मुश्लिम समुदायका ६० वर्षीय पुरूष हुन्। उनको बाँकेको खजुरास्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।
रुपन्देही र नेपालगञ्जमा फेला परेका दुवै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि कर्णाली प्रदेशमा संक्रमित फेला परे पनि प्रदेश ५ मा भने शुक्रबार मात्रै पहिलो पटक संक्रमित फेला परेका हुन्।