काठमाडौं । सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्याएको हो।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको हिजो बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै अवधि थप गर्न सरकारलाई सिफारिस गरेको थियो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आमन्त्रण गरिएको थियो।
विश्वव्यापी महामारी बनेको कोभिड-१९ को जोखिम फैलिन नदिन ११ चैतदेखि लकडाउन जारी छ। पछिल्लोपटक १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले लम्ब्याएको लकडाउनको अवधि भोलि, २५ वैशाखमा सकिँदै थियो।