Homeबागमती प्रदेशधुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

सुत्केरीको मृत्युबारे थप अनुसन्‍धान गर्दै स्वास्थ्य मन्‍त्रालय
Sagun Sandesh

काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।

माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो । शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

सुत्केरीको मृत्युबारे थप अनुसन्‍धान गर्दै स्वास्थ्य मन्‍त्रालय  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोककी महिलाको कोरोनाका कारण मृत्यु भए नभएको विषयमा थप अनुसन्धान सुरु गरेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले महिलाको मृत्युको कारणको विषयमा अनुसन्धान सुरु भएको बताए। उनले कारण निश्चित भएपछि मन्त्रालयले आधिकारीक रुपमा सूचना सार्वजनिक गर्ने प्रष्ट पारे। 

वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर २४ गते नर्मल डेलिभरी भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको बिहीबार मृत्यु भएको थियो।। नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनलाई ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछिसमेत विभिन्न शारीरिक समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । 

‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरण लिइराखेका छौँ। कोभिड-१९ सँग सम्बन्धित थप विवरण लिइराखेका छौँ’, प्रवक्ता देवकोटाले भने, ‘यो परीक्षणको सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारीक रुपमा कोभिड-१९ सँग सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निक्यौल गरेर प्रशारण गर्ने सबैलाई जानकारी गराउँछु।’ 

मृतक महिलाको धुलिखेल अस्पतालको ल्याबमा भएको पीसीआर र आरडीटी परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो। यस विषयमा अनुसन्धानका लागि मन्त्रालयले अस्पताल सिल गरेर अनुसन्धान सुरु गरेको हो।  

Sagun Sandesh

भर्खरै

लोकप्रिय