काठमाडौं। नेपालमा थप ९ जनामा संक्रमण थपिएको छ।बारामा ६, भक्तपुरमा १, मकवानपुर १ र सप्तरीमा १ गरेर ९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरूमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला छन्। उनीहरूको परीक्षण टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।
त्यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरी बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा पोजिटिभ देखिएको छ।
हेटौंडा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा बारा सिमरगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नयाँ थपिएका सहित कूल ५१६ जना संक्रमित भएको जनाएको छ।