काठमाडाैं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु पनि पुष्टि गरेको छ। आइतबार बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो। यसअघि शनिबार दैलेखमा क्वारेन्टिनमा रहेका युवाको कोरोनाबाट मृत्यु भएको थियो।
कोरोनाको संक्रमण हालसम्म ५३ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ सय २० जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तीमध्य १७२ जना पुरुष र ४८ जना महिला छन्।
प्रादेशिक विवरण अनुसार अहिलेसम्म प्रदेश १ मा ३०, प्रदेश २ मा १०४, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ४८ र सुदूरपश्चिम प्रदेशमा ६ जना डिस्चार्ज भएका छन्।
संक्रमितको संख्या दिन प्रतिदिन उकालाे लाग्न थालेको छ। आइतबार मात्रै १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित १८ जिल्लाका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार तनहुँका १, स्याङजाका २, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलवस्तुका ५, बाँकेका ८, नेपालगञ्जका ४, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङमा १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटी विधिबाट ४ हजार ५४ वटा परीक्षण भएको जानकारी दिएको छ।
मन्त्रालयको नियमित ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ६९ हजार ५ सय ८२ र आरडीटीबाट १ लाख ११ हजार १ सय ९ वटा परीक्षण भएको जानकारी दिए।
डा.देवकोटाका अनुसार हाल देशभर १ हजार ३ सय ४९ जना आइसोलेसनमा छन् भने १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टिनमा रहेका छन्।