काठमाडाैं । नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो ।
यसैबीच नेपालमा कूल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको बताउनुभयो । रौटहट, बाग्लुङ, दैलेख, मुगु, सिन्धुली, म्याग्दी र स्याङ्जामा संक्रमितको संख्या थपिएको हो ।
यसैबीच कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । गत २० गते पाल्पास्थित क्वारेनटीनमा रहेका पुरुषको मृत्यु भएको र उनमा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
बिहीबार भएका संक्रमितहरु ३१९ जना पुरुष र १५ जना महिला छन्। यस्तै संक्रमित जिल्लाको संख्या ६५ पुगेको छ। साथै देशभर संक्रमित भएकाहरु मध्य २४५० पुरुष छन् भने १८४ महिला छन्।
कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सकटकालको सिफारिस प्रस्ताव मन्त्रीपरिषद्लाई पठाएको छ।