काठमाडौं । शुक्रबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो।
प्रवक्ता गौतमले बिहीवार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत भेटिएकी महिलालाई अस्पताल पुर्याउने बितिकै डाक्टरहरुले मृत घोषणा गरेको र मृत्युपछि कोरोना पोजिटीभ देखिएको बताए।
पछिल्लो २४ घण्टामा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये १०७ जना महिला र ४८६ जना पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, झापाका ४, सुनसरीका १०, धनुषाका १५, महोत्तरीका ४, सिराहाका ६, अछामका १, बैतडीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीका ४६, गोर्खाका ६, कैलालीका ३१, कञ्चनपुरका ४२, कपिवस्तुका २१, रौतहटका ५१, सल्यानका ४, नवलपरासीका २४ र नुवाकोटका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै काठमाडौँका ३, चितवनका १२, सिन्धुलीका ६, कास्कीका २, लमजुङका ६, बागलुङका १, तनहुँका २, स्याङजाका १, अर्घाखाँचीका ३, गुल्मीका २५, पाल्पाका ७६, रुपन्देहीका ६, दाङका ७५, प्युठानका २०, दैलेखका ५, जाजरकोटका २, मुगुका १, सुर्खेतका १२ र जुम्लाका ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ। तीमध्ये १ हजार २ सय ४९ जना महिला र १० हजार ५०६ जना पुरुष छन्।
यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ४८ जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्ये ८ जना महिला र ४० जना पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६९८ पुगेको छ।