नारायण ढुङ्गाना/रासस
काठमाडौँ । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ ।
झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए । उनले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत बताए । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ । ‘कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ’, जोशीले भने ।
कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पु-याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पु-याएको छ । हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु-याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पु-याएको तर क्षतिको विवरण सङ्कलनको क्रममा रहेको जनाइएको छ ।
सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य हाेइन । कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ : कीट विज्ञ समुन्द्रलाल जोशी
प्राप्त विवरणअनुसार यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीट विज्ञ जोशीले यो कीरा त्यहाँको रैथाने हो भन्नुभयो । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।
सलहको बारेमा कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ । त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताए । उनले भने, ‘हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुण्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।’ कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुण्ड सात देखि नौ लाखको रहेको अनुमान छ । सुवेदीले घुमिराखेको झुण्डको सङ्ख्या घट्दो क्रममा रहेकोसमेत जानकारी दिए । पहाडी क्षेत्रमा जाँदा झुण्ड टुक्रिएको र केही त्यतै बसेको केही घुमिरहेको छ । आजको दिन भने दाङ, अर्घाखाँची र प्यूठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ ।
केन्द्रका अनुसार आज सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण/पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण/पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ । यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यसकारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लोपहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गरेका छन् ।
आज सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ
मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।
काठमाडौँको सलह नुवाकोट पुग्यो
शनिबार नेपाल छिरेको सलह सोही दिन बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो । आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो ।
केन्द्रका सूचना अधिकारी सुवेदीले काठमाडौँ उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने आज नुवाकोट पुगेको बताए । ‘नुवाकोटको विदुर आसपास जङ्गलमा रहेको छ, प्राविधिकहरु त्यसको निगरानी मै हुनुहुन्छ’, उनले भने । सलहको काठमाडौँ आएको हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको अनुमान छ । हावाको गतिसँगै जाने भएकाले जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराकोे सम्बन्धमा कृषि मन्त्रालय र मातहतका निकायले अनुगमन गरिरहेको छ ।
सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।
मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी लिएर सावधानीका उपायसमेत अवलम्बन गरिएको छ ।
सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित गरिएको छ । प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
सलह देखिएमा के गर्ने ?
आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँठा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यामबाट बाधा पु-याई झुण्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ
सलह देखिएमा तत्कालै स्थानीय पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न सरकारले नागरिकलाई अनुरोध गरेको छ । कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकारलगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।
कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत कृषि मन्त्रालयले आग्रह गरेको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँठा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यामबाट बाधा पु-याई झुण्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ ।
नर्सरी तथा करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिने जनाइएको छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेल भित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्नसमेत विज्ञहरुले आग्रह गरेका छन् ।