काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ पदमुक्त हुनुभएको छ ।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहनुभएको गुरूङले आज विश्वासको मत लिनु भएको थियो ।
गुरूङले विश्वासको मत लिने क्रममा उहाँको प्रस्तावमा २७ मत परेको थियो । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित हुनुहुन्थ्यो भने ५७ जनाले मतदान गर्नुभएको थियो ।
मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आयो भने विपक्षमा ३० मत आएको छ ।
मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएनन् । ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका थिए । स्वतन्त्र सांसद रहनुभएको हालको खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित हुनुभएन ।