पोखरा । स्याङ्जामा नेकपा एमालेका उम्मेदवार मात्र ६ मत अन्तरले प्रदेशसभामा सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।
स्याङ्जा क्षेत्र १ (२) मा एमालेका सुधीरकुमार पौडेलले ६ मतअन्तरले बाजी मारेका हुन् । शुक्रबार अन्तिम मतपरिणाममा उनले १७ हजार ४ सय ४१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्धिबहादुर रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गरेका हुन् । तेस्रो स्थानमा राप्रपा आयो । राप्रपा उममेदवार शान्तिकुमारी हमालले १ हजार ६ सय ७४ मत प्राप्त गरेकी छन् ।
नेकपा एमाले स्याङ्जा क्षेत्र १ (१) मा यसअघि एमालेकी सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन् । प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजु थापा निर्वाचित भए । उनले एमालेका नारायण प्रसाद मरासिनीलाई हराएका हुन् । राजुले ३१ हजार ९ सय ९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याए । स्याङ्जा क्षेत्र २ मा विवादका कारण गणना सुरु हुन सकेको छैन ।