काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै नेताहरूले छलफल तीव्र पार्नुभएको छ ।
सभापति शेरबहादुर देउवाले केही दिन अघि सभापतिमा दोहोरिने बताएसँगै कांग्रेस नेतृत्वमा आकांक्षीहरुको संख्या पनि बढ्दै गएको छ ।
यसैबीच आज उपसभापति विमलेन्द्र निधिले सभापतिका अरु दुई दाबेदार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गर्नुभएको छ । निधि, कोइराला र सिंह तीनैजना सभापतिका आकांक्षी हुनु हो ।
उहाँहरुबीच निधि निवास बानेश्वरमा लन्चसहित बैठक बसेको थियो । तीन नेताबीच सहमतिको खाकाबारे छलफल भएको स्रोतको दावी छ । विश्वस्त स्रोतका अनुसार सामूहिक नेतृत्वबाट पार्टी चलाउने, एक व्यक्ति एक पदको प्रावधानबाट सरकारमा जाने गरी सहमतिको खाका बनेको छ ।
उपसभापति निधिले आफूलाई नेतृत्वमा साथ दिन दुवैजना नेतासँग आग्रह गर्दै आउनु भएको छ । महामन्त्री कोइराला पनि नेतृत्वका लागि साथ दिन आग्रह गर्दै आउनु भएको छ । नेता सिंहले आफ्नो परिवारले पटक पटक त्याग गरेको स्मरण गराउँदै अब आफ्ना लागि त्यागको भावना देखाउन निधि र कोइरालालाई आग्रह गर्दै आउनु भएको छ ।
आजको छलफलले अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने समझदारी भएको स्रोतको दावी छ । त्यसै गरी विपक्षी गठबन्धन र कोरोना महामारीका सन्दर्भमा पनि तीन नेताबीच छलफल भएको बताइएको छ ।