काठमाडौं । सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो। तेस्रो चरणको लकडाउन वैशाख ३ गतेदेखि सकिँदैछ।
सरकारले पहिलो चरण चैत ११ गतेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउनपछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो।
तेस्रो चरणमा चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउन गरेको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले चौथो पटक हो।
सोमबार मात्रै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो। उनीहरु २८ दिनअघि बेलायतबाट फर्केका हुन्। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ।
सरकारले यसअघि नै वैशाख १८ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो।