नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ।
अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि नेकपाभित्र आन्तरिक विवाद र गुटबन्दी चर्केको छ । संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ।
ओलीको विकल्प खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ।
स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली पक्ष स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।
सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टीभित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्।
यही क्रममा ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदसँगको भेट तथा छलफललाई तीव्रता दिएका हुन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी बहुमत सांसदको हस्ताक्षर समेत गराइएको छ। अहिले नेकपासँग १७३ सांसद छन् ।
ओलीले सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका थिए। स्रोतका अनुसार सचिवालय बैठकमा ओलीले संकटका बेला सत्ताको खेलमा लाग्दा बाहिर नराम्रो सन्देश गएको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरेका थिए। अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद छोड्न आफू तयार नरहेको संकेत पनि ओली दिएका थिए।
ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास गरेका थिए। त्यसका लागि उनले नेपाल र प्रचण्डसँग भेटेर पटकपटक छलफल पनि गरेका थिए। तर त्यो पहल सफल नभएपछि सांसदको हस्ताक्षर जुटाएर बहुमत देखाउने तयारीमा ओली छन्। बालुवाटार निकट स्रोतले भन्यो, ‘बाहिर हल्ला गरियोजस्तो अल्पमतको अवस्था होइन। पार्टी र संसद दुवैतिर स्पस्ट बहुमत छ। त्यो आवश्यक परे दस्तावेजसहित पेस हुनसक्छ।’
बहुमत जुटाउने खेलअन्तर्गत प्रचण्ड र नेपाल समूहबाट सांसदहरुको हस्ताक्षर अभियान चलाइएपछि बालुवाटारले पनि सांसदहरुलाई बोलाउँदै फकाउँदै हस्ताक्षर गर्न लगाएको हो।