नेकपाको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ।
नेकपाको बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता गौतमलाई प्रतिनिधिमा लैजाने निर्णय भएको बताए। ‘उपयुक्त समयमा उहाँलाई प्रतिनिधि सभाको उम्मेद्वार बनाउने र प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘त्यसभित्रै प्रधानमन्त्री बनाउने विषय अन्तरनिहित छ।’
उनले सचिवालयको निर्णयले वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने ढोका खुल्ने बताए।
गौतम प्रतिनिधि सभाको बैठकमा बर्दिया क्षेत्र नं १ मा पराजित भएका थिए। उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग हार बेहोर्न पुगेका थिए।
स्थायी कमिटीको बैठक वैशाख २५ गते
नेकपा स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाइएको छ । नेकपा सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । वैशाख २५ गते ११ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।