Homeराजनीतिसंविधान संशोधनमा भोट नहाल्ने १७ सांसद को को हुन्?

संविधान संशोधनमा भोट नहाल्ने १७ सांसद को को हुन्?

Sagun Sandesh

काठमाडौं । शनिबार नेपालको नक्सा संशोधनका लागि भएको संविधान संशोधन विधेयकको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्य मध्ये २५८ जनाले मतदान गरेका छन्।उपस्थिति शत प्रतिशत सांसदले नै विधेयकको पक्षमा मतदान गरेका हुन्। यसअनुसार १७ जना सांसद देशको छुटेको भूमि फिर्ता ल्याउने ऐतिहासिक निर्णयमा मतदान गर्ने अवसरबाट छुटेका छन्।१७ मध्ये शनिबार मत दिन पाउने अवसर हुँदाहुँदै पनि १२ जना सांसद अनुपस्थित रहे भने चार जना निलम्बित अवस्थामा छन्।सभामुुख अग्निप्रसाद सापकोटाले पक्ष विपक्षमा बराबर मत नभएकाले निर्णायक मत दिन पाएनन्। अनुपस्थित रहने सांसदहरु अमृतादेवि अग्रहरी, गोपालबहादुर बम, दुलारी देवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सरिता गिरी रहेका छन्।त्यस्तै सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल पनि मतदान गर्न अनुपस्थित रहे। सांसदहरु विजयकुमार गच्छदार, मोहम्मद आफ्ताब आलम, हरिनारायण रौनियार, र रेशम चौधरी निलम्बित अवस्थामा छन्। गच्छदार र रौनियार भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएका हुन् भने आलम र चौधरी व्यक्ति हत्याको अभियोगमा निलम्बित भएका हुन्।विधेयकको पक्षमा संसदका ९३.८१ प्रतिशत सांसदले मत दिएका छन्। प्रतिनिधिसभाले पारित गरेको विधेयक आइतबार राष्ट्रियसभामा प्रस्तुत हुँदैछ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय