काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
दुई दिनसम्म निरन्तर भएको वार्तामा चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका ३ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।
सहमति अनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका चन्द नेकपाका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।
प्रहरीको तथ्यांक अनुसार विसं २०७५ फाल्गुन १० गतेदेखि २०७७ मङ्सिर २८ का बीचमा सो समूहका झण्डै २ हजार नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । त्यसमध्ये झन्डै १ हजार ९०० लाई मुद्दा दायर गरिएको छ । एक सय भन्दा बढी पूर्पक्षका लागि कारागारमा रहेका छन् ।