काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो< ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं ।’
उहाँले सहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताउनुभयो । ‘सहिदको चाहना जनताको चाहना पूरा भएको छैन,’ उहाँको भनाइ थियो, ‘जीवनदान गर्छौं, सहिदको सपना पूरा गरेर छाड्छौं ।’
महासचिव विप्लवले राजनीतिक मुद्दाहरुलाई शान्तिपूर्ण ढंगले लिएर जनतासम्म लैजाने बताउनुभयो ।
महासचिव विप्लवले नेपालका कम्युनिस्टहरु शान्तिका दूत पनि भएको उल्लेख गर्नुभयो । ‘हामी कम्युनिस्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्थामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन्,’ उहाँले भन्नुभयो ।