काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
शनिबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गर्नुभयो ।
संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।
सर्वदलीय बैठकमा उपस्थितिका लागि प्रधानमन्त्री ओली आफैले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गर्नुभएको थियो ।
शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ’म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई’, प्रचण्डले भन्नुभयो, ’धेरै समयपछि।’
प्रधानमन्त्री ओलीले आफूले टेलिफोन गरेरै बोलाउनुपर्ने नेताहरुलाई फोन गरेरै कुराकानी गर्दै बैठकमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गर्नुभएको स्रोतले बतायो ।