काठमाडौं । नेकपा(एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताउनुभएको छ ।
बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरको गतिविधिका विरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफुहरुको अभियान जारी रहने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘उहाँले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा(एमाले)को विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोध्ने यि जतिपनि गतिविधि गर्नुभएको छ यि स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई नेकपा(एमाले)को सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौँ त्यो सफलताको साथ अघि बढिरहेको छ । हामीले यसलाई जारी राख्नुपर्छ । जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइदैन तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई पुर्नपुष्टि गरेका छौँ ।’
नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताउनुभयो । सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफुहरुको भेलाले गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सरकारले यस्तो अवस्थामा जुन प्रकारले प्रभावकारी पाइला चाल्नुपर्थ्यो, औषधि उपचार, स्वास्थ्यकर्मी लगायतका अरु काम गर्नुपर्थ्यो त्यसतर्फ सरकारले प्रभावकारी रुपमा काम गरेको पनि देखिएन् । सरकारले पनि यसमा प्रभावकारी रुपले काम गर्नुपर्छ भन्नेकुरामा पनि हामिले जोड दिदैँ त्यसका लागि आव्हान गर्ने निर्णय गरेका छौँ ।’
नेता रावलले अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्नेकुरा गलत भएको बताउनुभयो । नेपालको कानुन बमोजिम ओलीले आफुलाई कारबाहि गर्न नसक्ने उहाँको भनाई छ ।