Homeराजनीतिराष्ट्रिय सभा उपनिर्वाचन : ३५ मतान्तरले गृहमन्त्री बादललाई हराउँदै डा. देवकोटा विजयी

राष्ट्रिय सभा उपनिर्वाचन : ३५ मतान्तरले गृहमन्त्री बादललाई हराउँदै डा. देवकोटा विजयी

Sagun Sandesh

हेटौंडा  । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ । एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका गृहमन्त्री समेत रहनु भएको रामबहादुर थापा बादललाई ३५ मत मतान्तरले देवकोटा विजयी हुनुभएको हो । बादलले मत १४८ मत प्राप्त गर्दा देवकोटाले भने १८३ मत प्राप्त गर्नुभएको थियो ।

स्थानीय तहबाट खसेको २३३ मत मध्येबाट डा. देवकोटालाई १२८, बादललाई १०३ र कृष्णबहादुर तामाङलाई २ मत खसेको थियो । त्यस्तै प्रदेश सभा सदस्यबाट खसेको मत १०५ मध्ये डा. देवकोटालाई ५८ मत, बादललाई  ४५ मत र तामाङलाई २ मत खसेको थियो ।  खसेको मतको अंकभार गर्दा स्थानीय तर्फबाट डा. देवकोटालाई २३०४, बादललाई १८५४ र तामाङलाई ३६ मत खसेको हो । त्यस्तै प्रदेश तर्फमा डा. देवकोटालाई २७८४, बादललाई २१६० र तामाङलाई ९६  मत रहेको हो ।  निर्वाचित देवकोटा र बादलको मतान्तर ३५ रहेको छ जुन मतको अंकभार १०७४ रहन्छ  ।   

एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा उम्मेदवार हुनुहुन्थ्यो भने डा.देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल पक्षको समर्थन रहेको थियो । 

त्यस्तै नेपाल किसान मजदुर पार्टीको तर्फबाट कृष्ण बहादुर तामाङ उम्मेदवार बनेका थिए । मतदानका लागि प्रदेश सभा सदस्य ४ जना र स्थानीय तहका पाँच जना मतदाता उपस्थित भएका थिएनन् । 

विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान भएको थियो ।   विहान  ९ बजेबाट सुरु भएको मतदानमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेश सभाका सदस्य, गाउँ÷नगरपालिकाका प्रमुख÷उपप्रमुखले मतदान गर्नुभएको थियो । मतदान केन्द्रमा उम्मेदवारहरु गृहमन्त्री राम बहादुर थापा (बादल), डा. खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङको उपस्थिती रहेको थियो ।

बागमतीमा राष्ट्रियसभाका लागि एमाले एक्लैको बहुमत रहेको थियो । तर देवकोटाले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा मत बाँडिएको देखिन्छ ।  

 बागमती प्रदेशमा एमालेको ५६ जना, माओवादी केन्द्रका २३ जना नेपाली कांग्रेसका २२ जना प्रदेशसभा सदस्य रहेका थिए । नेमकिपाका दुई, विवेकशील साझा पार्टीको ३ जना,राप्रपा २ जना, स्वतन्त्र १ जना सदस्य रहेका छन् । जसमा विवेकशील साझा पार्टीका तीन जना सदस्यले ‘नो भोट’ भनी मतदान गर्नुभएन भने नेकपा माओवादी केन्द्र तर्फका सदस्य हिमाली गोले अस्वस्थताका कारण उपस्थित हुनुभएको थिएन । एक सदस्यको भने केहिदिन अघि निधन भएको थियो ।  मतदान गर्न विद्यालयको पूर्वपट्टिको गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गरिएको थियो । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय