काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नलिने हुनु भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माणको मार्ग खोल्ने बताउनु भएको छ ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्नुभएको उहाँले उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
गत ३० वैशाखमा प्रधानमन्त्री नियुक्त हुनु भएको ओलीले संविधान अनुसार ३० दिनभित्र अर्थात् २८ जेठभित्र विश्वासको मत लिनुपर्छ । त्यसो नभए संविधानको धारा ७६ को उपधारा ५ मा जानुपर्ने हुन्छ ।
धारा ७६ (५) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिए राष्ट्रपतिले नियुक्त गर्न सक्ने प्रावधान छ ।
धारा ७६ (५) अनुसार ओलीविरोधी अन्य दलको गठबन्धन सरकार बनाउन सजिलो छैन ।
आज बसेको मन्त्रिपरिषद् बैठक लगतै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ ।
आजको मन्त्रिपरिषदको बैठक लगतै उहाँहरु बालुवाटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस अघि जसपाको ठाकुर पक्ष तटष्थ बसेको थियो भने उपेन्द्र यादवपक्षले प्रधानमन्त्रीको अविश्वासको पक्षमा मतदान गरेको थियो ।