काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदको हस्ताक्षरलाई आधिकारिता नदिन राष्ट्रपति कार्यालयमा पत्र दर्ता भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो पत्र पठाउनु भएको हो ।
पत्रमा भनिएको छ, ’नेकपा एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको कुरा आएको छ। पार्टीले छानबिन गर्दैछ । त्यसलाई मान्यता नदिइयोस् ।’
एमालेले दलीय अनुशासन उल्लंघन गरेको ठहरिने सांसदलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउनु भएको छ । जसमा नेकपा एमालेका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।
यसैबीच एमाले नेपाल पक्षका केही सांसदले अर्कै प्रयोजनको लागि गरिएको हस्ताक्षरको दूरुपयोग भएको समेत बताएका छन् ।