काठमाण्डौ । नेकपा एमालेका २३ सांसद आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएका छन् । उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने रिट निवेदनमा हस्ताक्षर गरेका हुन् ।
सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने र संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा माधव नेपाल समूहका नेताहरू माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डेलगायतले हस्ताक्षर गरेका छन् । यस्तै कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरु, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, भीम रावल, कलिला खातुन र रामकुमारी झाँक्रीले पनि हस्ताक्षर गरेका छन् । यस्तै झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपक प्रकाश भट्ट र नारायण खतिवडाले पनि हस्ताक्षर गरेका छन् ।
नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।
(याे खबर उज्यालाे अनलाइनबाट साभार गरिएकाे हाे ।)