काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन चार बजेर २५ मिनेटमा थापाको निधन भएको अस्पतालले जनाएको छ ।
कोभिड–१९ संक्रमणसँगै गम्भीर विरामी हुनुभएको नेता थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ मा मेडिसिटी पुर्याएर उहाँको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।
राजनीतिमा ४४ बर्षीय थापा छोटो समयमा लोकप्रिय हुनु भएको थियो । थापाले नेपालमा वैकल्पिक राजनीतिको उद्देश्य राखेर विवेकशील नेपाली दल स्थापना गर्नुभएको थियो । पछिल्लोसमय उहाँले मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । अहिले विवेकशील र साझा पार्टी एकीकरण भएर साझा विवेकशील पार्टी बनेको छ ।
उहाँको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ”
यसैगरी सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज विज्ञप्ति जारी गरी थापाको १३ औँ दिनको स्मृतिमा वृक्षरोपण गर्न आग्रह गरिएको छ भने थापाले दिएको राजनीतिक योगदान र संस्कारबारे छलफल सञ्चालन गरिने उल्लेख गरिएको छ ।