काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्नुभएको छ । उहाँले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिनु भएको हो ।
यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गर्नुभएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख छ ।
केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गर्नु भएको थियो ।