अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गर्नुभएको छ । संसद्मा तीनवटै विधेयक प्रस्तुत गर्दै पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार अर्थमन्त्री शर्माले घटाएको जानकारी दिनुभएको हो । मन्त्री शर्माले चालु आवको लागि पहिलेको बजेट घटाउँदै प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । कुल विनियोजनमध्ये चालुतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याउनुभएको थियो । त्यसमा चालुतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो ।
बजेटमा केही पुराना कार्यक्रमलाई कटौती गर्दै नयाँ लोकप्रिय योजना पनि समेटिएको छ । बजेटमा आर्थिक वृद्धि ७ प्रतिशत पुर्याउनेदेखि आकार घटाउनेसम्मका संशोधन गरिएको छ । यसैगरी, ओली सरकारले बजेट छुट्याएका १४०० सडक आयोजना पनि स्थगित गरिएको छ । मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक ५ हजारका दरले उपलब्ध गराइने बजेटमा उल्लेख छ ।
यस्ता छन् संशोधित बजेटमा नयाँ कार्यक्रम :
– बैठक भत्ता, इन्धन, गोष्ठीसम्बन्धी खर्चमा कटौती ।
– कोभिड-१९ को प्रभावित रोजगार गुमाएका ५ लाख परिवारलाई प्रतिपरिवार रु. १० हजार दिइने ।
– राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारको लागि मासिक तीन हजार प्रदान गरिने ।
– सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य ।
– काठमाडौं उपत्यकाको कम्तीमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने ।
– २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने ।
– मिर्गौला प्रत्यारोपण गरेका, मेरुदण्ड र पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ सहयोग ।
– शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने ।
– कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न गर्नेलाई प्राथमिकतामा ।
– समयमा निर्माण कार्य सम्पन्न नगर्ने प्रवृत्तिमा सुधार गरिने ।
– आर्थिक, प्राविधिक दृष्टिकोणबाट १४ सय सडक योजनाहरूलाई आवश्यकता हेरी खारेज गर्ने र स्थानीय तहमा हस्तान्तरण गरिने ।
– कृषि बाली तथा पशुबिमामा प्रिमियम अनुदान ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याउने ।
– प्रत्येक पालिकामा कम्तीमा ५०० युवालाई विनाधितो ऋण दिइने ।
– कोभिड-१९ विरुद्ध खोपको सुनिश्चितिताका लागि स्रोतको व्यवस्थापन गरिने ।
– आवासविहीन, कर्णाली तथा प्रदेशका दलितहरूका लागि आवश्यक आवासको व्यवस्था गरिने ।
– निरन्तर घाटामा गएका सार्वजनिक संस्थाहरूलाई सुधार गरी व्यवस्थित गरिने ।
मर्यादापालक र एमाले सांसदहरूबीच घम्साघम्सी, अर्थमन्त्रीको संसद्मै दौडादौड
नेकपा एमालेका सांसदहरूले कुनै पनि हालतमा संसद् चल्न नदिने रणनीतिअनुसार शुक्रबार पनि बैठक सुरु हुनासाथ होहल्ला सुरु गरे । ठेलमठेल र नाराबाजीमा १७ मिनेट सकिएपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो । त्यसअघि एमाले सांसदहरू कुर्सीबाट उत्रेर रोष्ट्रमतिर गइसकेका थिए तर पार्टी अध्यक्ष केपी शर्मा ओली भने बसिरहनुभएको थियो । मर्यादापालकहरू एमाले सांसदबाट हुनसक्ने गतिविधिप्रति सजग थिए । त्यसैले उनीहरूले सुरुदेखि नै सुरक्षा चेन बनाइसकेका थिए । एमालेका सांसदहरूलाई रोक्न मर्यादापालकहरूलाई हम्मेहम्मे परेको थियो । १५ मिनेटपछि पनि संसद् सहज अवस्थामा चल्ने स्थिति थिएन । त्यसैले १५ मिनेटपछि सुरु भएको बैठकमा पनि पुनः उही शैली- नाराबाजी र ठेलमठेल दोहोरियो । त्यही बीचमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिस्थापन विधेयक पेश गर्न अनुमति दिनुभयो । त्यसक्रममा एमाले सांसदहरूको आक्रोशको मात्रा झन् झन् चुलिँदै गयो । केही सांसद् रोष्ट्रम चढ्न खोजे । मयर्दापालकसँग घम्साघम्सी चल्यो । एमाले सांसद रेखाकुमारी झाले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोष्ट्रमतर्फ हान्ने कोसिस गर्नुभयो । तर, नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गर्नुभयो । एमालेको निरन्तर अवरोधपछि अर्थमन्त्री शर्मा रोष्ट्रममा दौडिएर पुग्नुभएको थियो ।
शुक्रबारका तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरहृयो । त्यही बीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोष्ट्रम पुग्नुभयो र विधेयक पेश गर्नुभयो । जसकारण एमालेको अवरोध र नाराबाजीबीच अर्थमन्त्री शर्माले विधेयक पेश गर्नुभएको थियो । अनवरत रूपमा रोष्ट्रममा छिर्ने प्रयासमा रहेका एमाले सांसदहरू मर्यादापालकबीच तीनवटै बैठक अवधिभर धकलाधकेल चलिरहृयो । बैठकमा बजेटसम्बन्धी तीनवटा विधेयक पारित भएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक निरन्तर अगाडि बढाउनुभयो । माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो । पछिल्ला दिनमा प्रतिपक्षी दललाई पेलेर संसद् अगाडि बढाएपछि तीक्तता झनै बढेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य गोकुल बाँस्कोटाले सभामुख सापकोटाको भूमिका पक्षपाती भएको आरोप लगाउनुभयो ।
नेताहरूका प्रतिक्रिया :
सुरेन्द्र पाण्डे, संसद्, नेकपा एमाले
संसद्भित्र सबैको सहमति लिएर रिप्लेसमेण्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो । त्यो हतारो पनि थिएन, आजको आजै गर्नुपर्ने कुरा पनि थिएन । जे भयो ठिक भएन ।
नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो नभएको बताउनुभयो । उहाँले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउनुभयो । पूर्व–अर्थमन्त्रीसमेत रहनुभएका सांसद पाण्डेले भन्नुभयो, ‘प्रतिस्थापन विधेयक ल्याइनु राम्रो कुरो होइन, संसद्भित्र सबैको सहमति लिएर रिप्लेसमेण्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो, सबैको सरोकारको विषय हो यो, यो जनताका प्रतिनिधिले कुरा ल्याउन पाउँछन्, जनताका प्रतिनिधिले छलफल नगरीकन त्यसमा हामीले अगाडि ल्यायौँ भने प्रिन्सिफ लिभिङको त्यो उचित कुरा होइन, वातावरण बनाएर ल्याउनुपथ्र्यो र त्यो हतारो पनि थिएन, आजको आजै गर्नुपर्ने कुरा पनि थिएन, त्यो विषय लिएर सर्वदलीय छलफल, सहमतिबाट गरेको भए धेरै राम्रो हुन्थ्यो ।’
त्यस्तै, नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादाबाहिर भएको बताउनुभयो । उहाँले सभामुखले यो भूमिका १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ खेलेको बताउँदै यसले संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भूमिका पनि निर्वाह नभएको बताउनुभयो । उहाँले संसद्मा आज के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको टिप्पणी गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले असमान व्यवहार गरेको र आफूहरूप्रति असहिष्णु व्यवहार गरेको भन्दै उहाँले सभामुखलाई मान्न नसकिने बताउनुभयो ।
गगनकुमार थापा, सांसद नेपाली कांग्रेस
प्रतिपक्षले आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्न खोज्दा यो स्थिति आएको हो । सभामुखलाई मान्दिनँ भन्दासम्म संसद् चल्ने योभन्दा अर्को बाटो देख्दिनँँ ।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताउनुभयो । शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले जबसम्म नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिनँ भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने बताउनुभयो ।
सांसद थापाले भन्नभुयो, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्न खोज्दा यो स्थिति आएको छ, । उहाँले त्यो दिनलाई स्मरण गर्न सक्नुपर्छ, जुन दिनसम्म उहाँहरू सभामुखलाई मान्दिनँ, यो संसद्, संविधान, ऐन, नियम, कानुनले चिनेको मान्दिनँ भन्नुहुन्छ त्यो दिनसम्म संसद् यसरी चल्नेभन्दा अर्कोबाटो देख्दिनँ ।’
अर्को बैठक २७ गते बस्ने
प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे)को निधनमा शोकप्रस्ताव पारित गरेको छ । नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी संगीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो । प्रतिनिधिसभाको शुक्रबारको तेस्रो बैठकले उनीहरूको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । प्रतिनिधिभाको अर्को बैठक यही भदौ २७ गते आइतबार दिनको एक बजे बस्नेछ ।