पोखरा- दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ मनाङबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन्। हिमालपारिको जिल्ला मनाङ प्रदेश (ख) बाट आगामी मंसिर ४ को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए।
गत असोज २३ मा उनीसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई बाटो खुलेको हो। उनलाई बुधबार निर्वाचित घोषणा गरिए पनि मंसिर ४ पछि मात्र प्रमाणपत्र प्रदान गरिनेछ।
मनाङेलाई एमाले र सत्ता गठबन्धन दुवैको साथ छ। गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री मनाङे २०७४ सालको चुनावमा एमालेको समर्थनमा निर्वाचित भएका थिए।
गण्डकीमा सत्ताको जोडघटाउमा २ पटकसम्म मन्त्री बन्ने शौभाग्य पाएका मनाङेले अघिल्लो चुनावमा निर्वाचित भएको एक वर्षपछि २०७५ माघ १४ मा सांसदको शपथ लिएका थिए।