Homeराजनीतिउम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट पनि विज्ञापन गर्न पाउने

उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट पनि विज्ञापन गर्न पाउने

Sagun Sandesh

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पारेको हो । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवार समेतले पालना गर्नुपर्ने सञ्चार माध्यमको प्रयोगसम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्र–पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ । तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख नभएकोले सो सम्बन्धमा स्पष्ट गरी राजनीतिक दल वा उम्मेदवारले सञ्चार माध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गर्नु उपयुक्त भएकोले निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चार माध्यममा देहायबमोजिम निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय आयोगले गरेको छ ।’

राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारसम्बन्धी बढीमा एक मिनेट सम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चार माध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था गरिएको छ । यस्तै, राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चार माध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउन सक्ने आयोगले जनाएको छ । अनलाइन सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने पनि आयोगको निर्देशन छ । यसैबीच, आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले बिहीबार आयोगको कान्तिपथस्थित कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय