Homeराजनीतिकैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिन स्वीप, रञ्जिता ३० हजार मतसहित विजयी

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिन स्वीप, रञ्जिता ३० हजार मतसहित विजयी

Sagun Sandesh

महेन्द्रनगर। कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन्।

प्रतिनिधिसभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्।

नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९ सय १० मतमै सीमित भए। यस क्षेत्रको प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन्।

कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन्। यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन्।

लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए। निकटतम् प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरे । सो पार्टीले यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ३ मा पनि प्यानलसहित विजयी हासिल गरेको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय