टाेकियाे । जापानमा हुने तय भएको टोकियो ओलम्पिक निर्धारित समयभन्दा एक बर्ष पछाडि हुनेमा पनि आशंका व्यक्त गरिएको छ।
यदि सन् २०२१ मा आयोजना गर्न नसकिए ओलम्पिक नै रद्द हुने टोकियो ओलम्पकिका प्रमुख यसिरो मोरीले बताएका छन्।
सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणका कारण एक बर्ष पछाडी सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ।
तर संसारभरका लाखौं खेलकर्मीले भाग लिने ओलम्पिकअघि कोरोनाभाइरसको भ्याक्सिन वा कुनै औषधी पत्ता नलगाइ ओलम्पिक आयोजना हुनेमा शंका गर्दै आइएको छ।
‘औषधी पत्ता नलागएको अवस्थामा ओलम्पिक खेल सन् २०२२ मा सर्छ?’ भन्ने प्रश्नमा प्रमुख मोरीले फेरि ओलम्पिक सर्ने अवस्था आए रद्द हुन सक्ने बताएका हुन्। उनले सन् २०२१ मा आयोजना गर्न नसकिए ओलम्पिक नै नहुने बताए।
तर उनले तोकिएको मितिमै ओलम्पिक हुने विश्वास व्यक्त गरे। उनले ओलम्पिक सबैका लागि अति महत्वपूर्ण खेल भएकाले आगामी वर्षका लागि हुने वातावरण श्रृजना हुने आसा गरे।
यसअघि टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्ष पनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका थिए।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाई थियो।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै बर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए।
प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक बर्ष पछाडि हुने मानेर नै तयारीको कामहरु तिब्र गतिमा अगाडी बढाइने बताउँदै आएका छन्। उनले त्यतिबेलासम्म कोरोना भाइरसको सङ्क्रमण अन्त्य हुने आशा पनि व्यक्त गरेका छन्।