काठमाडौं । नेपालले काठमाडौंमा भएको थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
नेपालका लागि सन्जोक राई पहिलो गोल गरेका थिए । उनले खेलको १८ औं मिनेटमो डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ताआएको बलबाट उनले गोल गरेका थिए ।
त्यसैगरी खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए ।
प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्दै उपाधि जितेको हो ।
सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।