बागलुङ । बागलुङ बजारको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने १८ लाख ५० हजार बराबरको क्षति भएको छ ।
आगलागीमा परि बागलुङ नगरपालिका वडा नम्बर १३ बलेवा घर भई सोही फर्निचर संचालन गर्दै आएका ३३ वर्षीय हरिजन, वडा नम्बर ३ गुठीका ६४ वर्षीय डम्मर बहादुर कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।
आगलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । राति २ बजेर ५० मिनेटमा प्रहरीलाई जानकारी भए लगत्तै प्रहरीको टोली त्यस स्थानमा गएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट ३० जना, विपद व्यवस्थापन गुल्मबाट १७ जना, शसस्त्र प्रहरीबाट १५ जनाको टोली, स्थानीय र दमकलको सहायतामा आगो निभाउने प्रयास भए पनि विहान ८ बजे मात्रै नियन्त्रणमा आएको हवारीले जानकारी दिए ।
आगलागीमा फर्निचरको उद्योग जलेर नष्ट हुँदा १५ लाख, आगालागी नजिकै रहेको डम्बर बहादुर कार्कीको घरको घरको झ्याल ढोका लगाएत अन्यमा क्षती हुँदा दुई लाख र सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लाल बहादुर थापाको कोठामा जल्दा साढे एक लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो के कारणले लागेको भन्ने विषयमा अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।